कावासोती, नवलपुर भदौं १३ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू समुदायको अधिकार, पहिचान र संवैधानिक मान्यताको जग माओवादी जनयुद्ध र आन्दोलनले बनाएको बताउनुभएको छ ।
नवलपुरको कावासोती–१६ डण्डामा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा आयोजित जिल्ला स्तरीय भौदी खेल प्रतियोगितामा सहभागी भइ सम्बोधन गर्नुभएका अध्यक्ष प्रचण्डले थारू समुदायका अधिकार सुनिश्चित गर्न जनयुद्धले गरेको योगदानलाई सम्पूर्ण थारु समुुदायले आत्मसाथ गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
“यदि जनयुद्ध र जनआन्दोलन नभएको भए, संविधानसभामा पुगिएको थिएन भने अहिले थारू समुदायको पहिचान, अधिकार र आयोग जस्ता उपलब्धिहरू सम्भव हुने थिएन,” प्रचण्डले भन्नुभयो ।
उहाँले संविधान निर्माणको क्रममा थारूलाई मधेसी क्लस्टरमा राख्ने वा केवल आदिवासी जनजातिको रूपमा समेट्ने दुई धाराबीचको बहसका बेला माओवादीले थारूको ‘अलग क्लस्टर’ को मान्यता र संवैधानिक आयोगको मागलाई प्रष्ट र बलियो रूपमा उठाएको कुरा थारु समुदायले आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।
गण्डकी प्रदेशमा थारू जनसंख्या न्यून भएकाले थारू समुदायको स्वतन्त्र राजनीतिक प्रतिनिधित्व सम्भव नदेखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले नवलपुर क्षेत्रलाई विशेष वा स्वायत्त क्षेत्रको रूपमा घोषणा गर्नुपर्ने बताउनुभयो ।