अक्सफोर्ड डिप्लोम्याटिक सोसाइटी प्रतिनिधिमण्डलको उज्यालो नेपाल पार्टीसँग भेटघाट तथा विचार आदानप्रदान
२०८२ साल चैत २६, उज्यालो नेपाल पार्टीले आफ्नो केन्द्रीय कार्यालयमा अक्सफोर्ड डिप्लोम्याटिक सोसाइटीको प्रतिनिधिमण्डलसँग विचार आदानप्रदान कार्यक्रम सम्पन्न गर्यो। नेपाल, क्यानडा, संयुक्त राज्य अमेरिका, जर्मनी, मलेसिया, बेलायत, भारत र इटलीका १५ जना सहभागीहरू सम्मिलित उक्त प्रतिनिधिमण्डलमा कूटनीति, सार्वजनिक नीति, कानुन, प्रविधि, वित्त, व्यवसाय, विश्व स्वास्थ्य तथा विकासजस्ता विविध क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा उज्यालो नेपाल पार्टीका तर्फबाट पार्टी अध्यक्ष कुलमान घिसिङ, मुख्य सचिव डा. राजु थापा, प्रवक्ता श्री गुरुङ, सचिव केदार खड्का, सचिव सुमित मोक्तान, कोषाध्यक्ष भगवती कक्छापति तथा केन्द्रीय समिति सदस्य पवन पोखरेलको उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीको स्थापना, यसको राजनीतिक दृष्टिकोण तथा नेपाललाई सुशासन, समृद्धि र सामाजिक न्यायको बाटोमा अघि बढाउने पार्टीको प्रतिबद्धताबारे जानकारी दिनुभयो। उहाँले विद्युत् क्षेत्रको अँध्यारो अन्त्य गर्ने आफ्नो अनुभव स्मरण गर्दै अब देशका अन्य क्षेत्रका समस्याहरू हटाई समग्र राष्ट्रिय रूपान्तरणतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
छलफलका क्रममा ऊर्जा रूपान्तरण, जलविद्युत् विकास, नीतिगत सुधार, लगानीमैत्री वातावरण, हरित अर्थतन्त्र, विद्युतीय सवारी, हरित हाइड्रोजन, डिजिटल प्रविधि तथा युवाको उत्पादनमुखी सहभागिताजस्ता विषयमा गम्भीर विचार विमर्श भयो। कार्यक्रममा नेपाललाई सन् २०४५ सम्म कार्बन न्युट्रल बनाउने दीर्घकालीन सोच, स्वच्छ ऊर्जामा आधारित विकास तथा क्षेत्रीय स्तरमा विद्युत् निर्यातको सम्भावनाबारे पनि चर्चा गरिएको थियो। उक्त कार्यक्रमले नेपालका विकास सम्भावना, राजनीतिक नेतृत्व र स्वच्छ ऊर्जा भविष्यबारे अन्तर्राष्ट्रिय तहमा सकारात्मक संवाद विस्तार गर्ने अवसर प्रदान गरेको पार्टीले जनाएको छ।